नियम ९९
निवृत्तभरण सम्बन्धी कार्यविधि
(१) उमेर वा सेवा अवधिको कारणबाट अनिवार्य
अवकाश पाउने कर्मचारीले अवकाश हुने मितिभन्दा छ महिना अगावै निजामती
किताबखानाले तोकेको फाराम भरी आफू बहाल रहेको कार्यालय मार्फत निजामती
किताबखानामा अनिवार्य रूपले पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको फाराम भर्न नपाउदै कुनै कर्मचारीको मृत्यु भएमा
त्यस्तो मृत कर्मचारीले इच्छाएको व्यक्तिले र कसैलाई नइच्छाएको भए निजको परिवारका
सदस्यमध्ये देहायको क्रमानुसार जो जीवित छ उसैले सम्बन्धित अधिकारी समक्ष छ
महिनाभित्र फाराम भरी पठाउनु पर्नेछ ः-
(क) सगोलको पति वा पत्नी,
(ख) सगोलको छोरा,
(ग) सगोलको अविवाहिता छोरी, धर्मपुत्र वा अविवाहिता धर्मपुत्री,
(घ) सगोलको बाबु, आमा,
(ङ) आफैले पालन पोषण गर्नु पर्ने पुरुष कर्मचारीको हकमा बाजे,
बज्यै र महिला कर्मचारीको हकमा सासु, ससुरा र छोरापट्टिको
नाति,
(च) भिन्न बसेको पति वा पत्नी,
(छ) भिन्न बसेको छोरा,
(ज) भिन्न बसेको अविवाहिता छोरी, बाबु र आमा,
(झ) सगोलको दाजु भाई, विधवा छोरा बुहारी र छोरापट्टिको
अविवाहिता नातिनी,
(ञ) सगोलको अविवाहिता दिदी, वहिनी र विवाहिता छोरी,
(ट) सगोलको भतिजा, भतिजी, सौतेनी आमा, भिन्न बसेका
छोरापट्टिको नाति, अविवाहिता नातिनी,
(ठ) सगोलको काका, विधवा काकी, भाउज्यू, भाई बुहारी, नातिनी बुहारी,
(ड) भिन्न बसेको दाजु, भाई
(ढ) विवाहिता दिदी, वहिनी, भिन्न बसेका बाजे, बज्यै, विधवा छोरा
बुहारी, नातिनी बुहारी, भतिजा ।
स्पष्टीकरण :- एकै क्रममा एकभन्दा बढी नातेदारहरू तोकिएको
भए सो क्रममा तोकिएको सबै नातेदारहरूले बराबर हिसावमा
मृत कर्मचारीको निवृत्तभरण पाउन सक्नेछन ।
(३) उपनियम (१) वा (२) बमोजिम फाराम प्राप्त भएपछि निजामती
किताबखानाले आवश्यक जाँचबुझ गरी अवकाश प्राप्त कर्मचारी वा मृत कर्मचारीको
निवृत्तभरण पाउने नातेदारलाई नेपाल सरकारले तोकेको ढाँचामा निवृत्तभरणको
अधिकारपत्र दिनु पर्नेछ ।
(४) निवृत्तभरणको लागि फाराम भरी पठाउने व्यक्तिले कुन ठेगानामा
निवृत्तभरणको लागि अधिकारपत्र पठाई दिनु पर्ने हो सो कुरा खोली निजामती
किताबखानामा लेखी पठाउनु पर्नेछ र सबै रीत पुगेकोमा सम्बन्धित व्यक्तिले पाउने गरी
पै“तीस दिनभित्र निवृत्तभरणको अधिकारपत्र सम्बन्धित व्यक्तिलाई पठाई दिनु पर्छ ।